आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिह्नसमेत उपलब्ध गराएको हो ।
सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही २१, २२ र २३ मंसिरमा तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका थिए । सो निर्वाचन प्रणालीतर्फ १०० दलले आवेदन दिएको भए पनि दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्नमा भाग लिने गरी आवेदन दिएकाले कुल ९३ वटा निर्वाचन चिह्न कायम भएको उनको भनाइ छ ।
आयोगले २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्राप्त गरेको समानुपातक मतका आधारमा क्रमसंख्या र निर्वाचन चिह्न प्रदान गरिएको जनाएको छ । अन्यका हकमा दर्ताका आधारमा चिह्न प्रदान गरेको छ ।
आयोगले पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटौंमा ढल्केको छाता, सातौंमा लाउड स्पिकर चुनाव चिह्न निर्धारण गरेको छ । त्यसैगरी पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसिया लगायतका चुनाव चिह्न रहने छन् ।
यसैगरी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टीले एकल चुनाव चिह्न बस प्राप्त गरेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकल चिह्नका रूपमा चकिया (जाँतो) चुनाव चिह्न पाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी), नेपाल कम्युनिस्ट पार्टीले कोदालो र सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले जगर भएको सिंह एकल चिह्न पाएको आयोगले जनाएको छ ।