मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
यस दिन नेप्से परिसूचक ३०.७६ अंक बढेर ३००२.०७ विन्दुमा पुगेको छ । यो करिब ४ वर्ष यताकै उच्च विन्दु हो । यसअघि २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ विन्दुमा बन्द भएको थियो । सोपश्चात आज नै नेप्सेको उच्च विन्दु हो । यस दिन सेन्सेटिभ इण्डेक्स ३.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक बढेको छ ।
नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार १९ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको १ लाख ५७ हजार ५२५ पटकको कारोबारमा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँबराबरको ४ करोड १८ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भि इनर्जी र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने माइखोला हाइड्रोपावर र ग्रीन भेन्चर्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.६० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ६४ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको करिब ६४ करोडको शेयर किनबेच भएको छ । भने नेपाल पुनर्बीमा कम्पनीको करिब ५७ करोडको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बैंकिङ, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन विकास बैंक, वित्त उपसमूह र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो ।