चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड पुग्यो आयात

Yangle News
Yangle News
२०८२ मंसिर ८ गते
चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड पुग्यो आयात

चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापारमा नेपालले ५ खर्ब १५ अर्ब रुपैयाँ खुद घाटा व्यहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा आयात ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.७१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । तथापि यसै अवधिमा निर्याततर्फ ठूलो वृद्धि भएको तथ्यांकले देखाएको छ । गत वर्षको यसै अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ निर्यात भएकोमा यस वर्ष ९३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

यो गत वर्षको भन्दा ७७.५१ प्रतिशले बढी हो । समग्रमा गत वर्ष २०७९/८० को तुलनामा यस वर्ष नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय सुधार देखिएको छ । आयात, निर्यात तथा कुल व्यापार दुवैमा वृद्धि भए पनि व्यापार घाटा अझै ठूलो स्तरमै रहेको छ ।

कात्तिक मसान्तसम्म कुल वैदेशिक व्यापार (आयात-निर्यात) ७०२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा २४.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा ५ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो ।