इरानमा पछिल्ला तीन वर्षयताकै ठूलो प्रदर्शन जारी छ । प्रदर्शनको पाँचौं दिन बिहीबार देशका विभिन्न शहरमा भएका घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेताको शासन अन्त्यको माग गरेका छन् भने केहीले राजशाही पुनःस्थापनाको नारा लगाएका छन् । बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा सवारीसाधनमा आगजनी गरिएको देखिन्छ । उक्त झडपमा प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए भने सुरक्षाकर्मीहरूले जवाफी कारबाहीस्वरूप गोली र अश्रुग्यास प्रयोग गरेका थिए ।
इरानको सरकारी समाचार एजेन्सी फार्स र मानवअधिकार संस्था हेंगावका अनुसार दक्षिण-पश्चिमी इरानको लोरेस्तान शहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा तीन जनाको मृत्यु भएको छ । फार्सले देशको पश्चिमी क्षेत्रमा पर्ने अंजना शहरमा थप तीन जना र कुहदाश्तमा एक जनाको ज्यान गएको जानकारी दिएको छ । यसका साथै दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागत विरुद्धका प्रदर्शन हिंसात्मक बन्दै गएर प्रदर्शनकारीहरूको ज्यान लिइएमा संयुक्त राज्य अमेरिका प्रतिक्रिया दिन पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन् । शुक्रबार उनले इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि घातक कारबाही गरेमा अमेरिका ‘लक एन्ड लोड’ अवस्थामा रहेको स्पष्ट गरेका हुन् ।
इरानको मुद्रा रियाल अमेरिकी डलरसँगको तुलनामा इतिहासकै सबैभन्दा तल्लो स्तरमा झरेको छ । एक अमेरिकी डलर किन्न इरानीहरूलाई १४ लाख रियाल तिर्नुपर्ने अवस्था आएको छ । यसले इरानमा आयात अत्यन्त महँगो बनाएको छ । महँगी नियन्त्रणबाहिर गएको छ ।
इरान पहिल्यै अमेरिका र पश्चिमी देशहरूको प्रतिबन्धका कारण गम्भीर आर्थिक संकटमा छ । क्षेत्रीय तनावले यसका कठिनाइहरू अझ बढाएको छ ।