एनपीएलको उपाधि होडमा सुदूरपश्चिम र लुम्बिनी

Yangle News
Yangle News
२०८२ मंसिर २५ गते
एनपीएलको उपाधि होडमा सुदूरपश्चिम र लुम्बिनी

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो चरणको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर ९४ रन बनाउँदै १७.५ ओभरमा अलआउट भयो । लुम्बिनीका लागि तिलक भण्डारी तीन विकेट लिए । रुवेन ट्रम्पलम्यान, जेजे स्मिथ र अविशेष गौतमले समान दुई/दुई विकेट लिए । शेर मल्लले एक विकेट लिए ।

सुदूरपश्चिम पनि यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनलमा पुगेको थियो । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराएको थियो ।

बिहीबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा अठ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो । ओपनर ब्याट्सम्यान दिनेश अधिकारी (एक रन)लाई सस्तैमा गुमाएको लुम्बिनीका लागि अर्का ओपनर डी’आर्ची सर्ट र तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेलले उत्कृष्ट साझेदारी गरे ।

यी दुबै ब्याट्सम्यानले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे । डी’आर्ची सर्टले महत्वपूर्ण ४५ रन बनाए । उनले केवल ४१ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए । कप्तान रोहितले पनि टोलीको खातामा ३४ रन थपे । उनले ३० बलमा दुई छक्का र दुई चौका प्रहार गरे । निरोसन डिक्वेलाले २२ बलमा चार चौकाको मद्दतले २९ रन बनाए ।

सन्दीप जोरा र जोनाथन जोहानेश स्मित खाता खोल्नुअघि नै पेभेलियन फर्किए । दिलीप नाथ पनि केवल एक रन बनाउँदै आउट भए । रुवेन ट्रम्पलम्यानले अविजित ११ रन बटुले । शेर मल्लले सात रन जोडे । अविषेश गौतम दुई रनमा अविजित रहे ।

Yangle News

लुम्बिनीका लागि विराटनगरका बलर सुवाष भण्डारी घातक बने । उनले किफायती बलिङ गर्दै चार ओभरमा केवल १४ रन खर्चिएर तीन विकेट लिए ।

प्रतिस जीसीले पनि तीन विकेट हात पारे । उनले चार ओभरमा २७ रन खर्चिए । कप्तानसमेत रहेका लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिए । लुम्बिनीले अतिरिक्त रूपमा चार रन पायो ।

अब एनपीएलको उपाधि भिडन्त शनिबार हुनेछ ।