मुस्ताङमा पर्यटकको चहलपहल, स्वदेशी पर्यटकको सङ्ख्या उच्च

Yangle News
Yangle News
२०७९ फाल्गुन २९ गते
मुस्ताङमा पर्यटकको चहलपहल, स्वदेशी पर्यटकको सङ्ख्या उच्च

जाडोयाम सकिएर बसन्त ऋतु सुरु भएसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ। म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो ।

मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, एक्यापको जोमसोमस्थित कार्यालयले जानकारी दिएको छ।

“सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको स्थानीय बताउँछन् । सन् २०२३ को मार्च महिनाभित्र ११ दिनको अवधिमा एक हजार आठ सय ४४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका एक्पाप जोमसोम शाखाले जनाएको छ ।

सार्क राष्ट्रकामध्ये सबैभन्दा धेरै पर्यटक भारतका 

अङ्ग्रेजी वर्ष २०२३ सुरु भएयता तीन हजार छ सय ६९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। जनवरीमा एक सय ३१ र फेब्रअरीमा १ हजार ६ सय ९९ पर्यटक आएका थिए । सन् २०२२ मा ४८ देशका ६५ हजार नौ सय ४० जनाले मुस्ताङ भ्रमण गरेकामा ४६ हजार सात सय २४ जना सार्क र १९ हजार दुई सय छ जना तेस्रो मुलुकका थिए ।

म्याग्दी भएर दैनिक ५० वटा बस र एक सय ५० वटा जीपमा पर्यटक मुस्ताङ भित्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अनुकूल मौसम, सडक यातायात र होटलको सहजतासँगै मुस्ताङमा पर्यटकको आगमन बढेको होटल व्यवसायी सम्झना थकालीले बताइन ।

विदेशीको तुलनामा स्वदेशी पर्यटक बढी छन् । आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट पनि समूह बनाएर भ्रमणमा आएका छन् । चीनको सिमानास्थित कोरला नाकासम्म सडक पुगेको छ।

 

358 views