संसद्का दुई ठूला दल कांग्रेस र एमाले ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । उनीहरुले संविधान संशोधनको एजेन्डा मुख्य रुपमा राखेका छन् ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा नदिने बरु संवैधानिक प्रावधान अनुसार संसदमा विश्वासको मतको सामाना गर्ने भएका छन् । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमतिपछि बसेको माओवादी पदाधिकारीहरूको बैठकले सरकार नछोड्ने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।
यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।