प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफले जित्यो

Yangle News
Yangle News
२०८० पुस १८ गते
प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफले जित्यो

 

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

जितको लागि एक सय १५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय तीन रनमा समेटिएको थियो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले ६२ र काजल श्रेष्ठले २२ रन बनाए । अरु खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेल्दै ५३ रनको योगदान गरिन । ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाए ।

उपाधिसँगै एपीएफले पाँच लाख र उपपिवजेता कोशीले तीन लाख रुपैयाँ प्राप्त गरेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक महिला क्रिकेट राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो । पुस ५ देखि सुरु  प्रतियोगितामा एपीएफ र सात प्रदेश गरी आठ टोलीको सहभागिता थियो ।

यसैबिच, नेपाली महिला क्रिकेटकी कप्तान तथा कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्री  प्रतियोगिताको सवोत्कृष्ट खेलाडी भएकी छन् । फाइनलमा एपीएफ क्लबसँग पराजित भए पनि कोशीका लागि सर्वाधिक ६२ रन बनाएकी रुबिनाले  उपाधिसहित यमाहाको स्कुटर पुरस्कार प्राप्त गरिन् ।