काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमवासी बस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रंगशालामा पुगेर नाम टिपाएका छन् ।
घर, जग्गा, पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरूले विवरण टिपाएका हुन् । दशरथ रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठामाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले उनीहरूको विवरण संकलन गरिरहेको छ ।
विवरण संकलनपछि स्वास्थ्य जाँच तथा मनोपरामर्श गरेर उनीहरूलाई तोकिएका ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी भइरहेको जनाइएको छ । उनीहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय तथा निवास, भक्तपुरको खरिपाटीको विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र, काठमाडौंको चोभारस्थित तरकारी बजार व्यवस्थापन केन्द्र र काभ्रे होल्डिङ सेन्टरमा लैजाने तयारी भइरहेको छ ।
दशरथ रंगशालामा आइपुगेका सुकुमवासीको विवरण संकलन गरी उनीहरूलाई होल्डिङ सेन्टरमा पठाउने तयारी भइरहेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले बताए ।