यस साता नेपाली बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव आएको छ ।
गत साउन ४ गते आइतबारयता सुनको मूल्य वृद्धि र गिरावटका कारण उतारचढावपूर्ण रहेको हो । यस अवधिमा सुनको मूल्य एक हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत आइतबारका दिन सुनको मूल्य ८ सय रुपैयाँले बढेको थियो । उक्त दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, साउन ५ गते सोमबार पनि सुनको मूल्यमा ४ सय रुपैयाँले वृद्धि भयो । उक्त दिन एक लाख ९३ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । साउन ६ गते मंगलबार भने एकैदिन सुनको मूल्य १ हजार ८ सय बढेर उक्त दिन एक लाख ९५ हजार ५ सय रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो । त्यस्तै, साउन ७ गते बुधबार पनि सुनको मूल्यमा पुनः भारी वृद्धि भयो ।
उक्त दिन सुनको मूल्य दुई हजार १ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । साउन ८ गते बिहीबार भने सुनको मूल्यमा भारी गिरावट आएको छ । उक्त दिन सुनको मूल्य २ हजार ४ सय रुपैयाँ घटेर एक लाख ९५ हजार २ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो । साउन ९ गते शुक्रबार पनि सुनको मूल्य ५ सय रुपैयाँ घटेर एक लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यस साता चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । यस अवधिमा चाँदीको मूल्य ५५ रुपैयाँ बढेको हो । साताको पहिलो कारोबार आइतबार प्रतितोला २ हजार २ सय ८५ रुपैयाँ रहेको चाँदीको मूल्य अन्तिम कारोबार दिन शुक्रबार २ हजार ३ सय ४० रुपैयाँ रहेको छ । यसबीचमा बुधबार भने चाँदीको प्रतितोला मूल्य २ हजार ३ सय ५० रुपैयाँ पुगेर सर्वाधिक उच्च बिन्दुको रेकर्ड कायम भएको थियो ।