सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन

Yangle News
Yangle News
२०८२ भदौ १३ गते
सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन

सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ । आज सिंहदरबारमा भएको वार्तामा कुनै सहमति जुट्न नसकेको हो ।

वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए । संघर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो ।

वार्तामा आफुहरुले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको उखु किसान संघर्ष समितिका प्रवक्ता यादवले बताए । कृषि मन्त्रालयको बार्षिक बजेटमा नै २ अर्ब रुपैयाँ उखु किसान अनुदान दिने भनेर छुट्टाउँदा अर्थ मन्त्रालयले बजेट रोकेको उनको आरोप छ । शनिबार ११ बजे माइतीघरमा पत्रकार सम्मेलन गरी आन्दोलनको आगामी स्वरुपबारे जानकारी दिने प्रवक्ता यादवले बताएका छन् ।

उखुको मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित हुनुपर्ने, अनुदान तत्काल उपलब्ध गराउनुपर्ने, उखुमा लाग्ने भ्याट खारेज गर्नुपर्ने किसानहरुको मुख्य माग छ । १३ जिल्लाबाट काठमाडौंमा आन्दोलन गर्दै आएका उखु किसानहरुले आफनो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।