मदनका अधुरा सपना पुरा गर्न सकिन्छ : एमाले अध्यक्ष ओली
पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा नेकपा एमालेले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरेको छ । चितवनस्थित दासढुङ्गामा श्रद्धाञ्जली सभा आयोजना गरियो । नेकपा एमाले चितवनले नेताद्वयको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो ।
स्मृति दिवसका अवसर काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको नयाँ नेपाल बनाउने सपना अहिले अधुरो भए पनि पूरा गर्न सकिने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मदनलाई आदर्श व्यक्तित्वका रूपमा चर्चा गर्दै भने, नयाँ नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै छ । त्यो आज उहाँका उत्तराधिकारीहरुले पुरा गर्नुपर्नेछ । नयाँ नेपाल बनाउने चुनौतीहरू छन् । विरोधीहरू षडयन्त्रपूर्ण ढङ्गले आउँछन् । यसको अर्थ यी सपना पुरा गर्न सकिँदैन भन्ने होइन । हामी चुनौतीको सामना र षडयन्त्रहरूलाई परास्त गर्न सक्छौ र सपनालाई साकार पार्न सक्छौ, उनले भने ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज बिहानै महादेवस्थानस्थित स्मृति वाटिका पुगेर मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकि छन् ।राष्ट्रपतिबाट बाहिरिएपछि उनको यो पहिलो सार्वजनिक कार्यक्रम हो । उनी त्यहाँ निकै भावुक देखिइन्।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पनि अलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालय मदन-आश्रित स्मृति दिवस मनाएको छ ।
२०५० साल जेठ ३ गते महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भएको थियो । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए । लामाको २०६० मा हत्या भएपछि सो घटनाको यथार्थ अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।