क्यासिनोमा आगजनी र चोरीको अभियोगमा २ जना पक्राउ

Yangle News
Yangle News
२०८२ मंसिर २० गते
क्यासिनोमा आगजनी र चोरीको अभियोगमा २ जना पक्राउ

काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बौद्ध बस्ने ४२ वर्षका सेड्डी भन्ने दावा शेर्पा र बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने २९ वर्षका रने भन्ने रन्जित खड्गी छन् । उनीहरूलाई मंसिर १२ गते बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अपरिचित समूहले धारिलो हतियार देखाएर क्यासिनो काउन्टरमा राखिएको नगद लुटपाट गरेका थिए । त्यही क्रममा क्यासिनोभित्रका संरचना तोडफोड र आगजनीसमेत गरी उनीहरू फरार भएका थिए ।

दुवैलाई चोरी तथा डाँका सम्बन्धी कसूर र आपराधिक उपद्रव गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट सात दिनसम्मको म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरी परिसरका सूचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिए ।