उत्तर कोरियाली नेता किम चढ्ने बख्तरबन्द रेलको विशेषता के छ ?

Yangle News
Yangle News
२०८२ भदौ १७ गते
उत्तर कोरियाली नेता किम चढ्ने बख्तरबन्द रेलको विशेषता के छ ?

कुनै देशका सर्वोच्च नेताले अर्को देशमा जाँदा यात्राको सबैभन्दा छिटो र आरामदायी विकल्प रोज्नु उत्तर स्वभाविक हो । कोरियाली नेता किम जोङ उन भने आफ्नो बख्तरबन्द रेल चढेर वैदेशिक यात्रा तय गर्ने गर्दछन् ।

रेलले उत्तर कोरियाको राजधानी प्योङयाङबाट चीनको राजधानी बेइजिङसम्म करिब १३ सय किलोमिटरको दूरी तय गरेको थियो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन विशेष रेल चढेर चीन पुगेका छन् । उनले मंगलबार बिहान उत्तर कोरियाबाट चीनको सीमा नाघेका हुन् ।

दोस्रो विश्वयुद्धमा जापानले पराजय व्यहोरेको अवसरमा चीनले आयोजना गर्न लागेको सैन्य परेडमा सहभागी हुन किम चीन पुगेका हुन् । उत्तर कोरियाली अखबार रोडोङ सिन्मुनले सैन्य परेडलाई किमले सहभागिता जनाउने सबैभन्दा ठूलो बहुपक्षीय कूटनीतिक समारोह भनेको छ । यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित २६ मुलुकका प्रतिनिधि सहभागी हुँदैछन् ।

रोडोङ सिन्मुनले किमका फोटोहरु सार्वजनिक गरेको छ । फोटोमा उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुईसँगै किम विशेष रेलमा बसिरहेको देख्न सकिन्छ । उनको पछाडि उत्तर कोरियाको झण्डा रहेको छ भने टेबलमा बन्द ल्यापटप छ । अर्को फोटोमा हरियो रेलबाहिर किमले चुरोट हातमा लिएको पनि देखिएको छ ।

किम जोङ उन र उनका पूर्ववर्ती शासकहरु विदेश भ्रमणमा जाँदा रेलको प्रयोग गर्दै आएका छन् । रोयटर्सका अनुसार किम जोङ उनका बाबु किम जोङ इल उड्न डराउँथे । त्यसैले उनी रेलमा यात्रा गर्थे । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्नका लागि सन् २०१९ मा भियतनाम जाँदा पनि किम रेल चढेरै पुगेका थिए ।

Yangle News

यो रेल गोली र बम हान्दा पनि सुरक्षित हुने हिसाबले निर्माण गरिएको दाबी गरिएको छ । उनको रेलमा आक्रामक हतियारका साथै आकस्मिक अवस्थाका लागि हेलिकोप्टरसमेत राख्ने व्यवस्था रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ ।

धेरै सुरक्षा बन्दोबस्त गरिएको र भारी धातुको प्रयोग भएका कारण यो रेल ५० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र दौडन सक्छ । किमको रेलभित्र विलासी गाडीहरु पनि राख्ने गरिएको छ भने रेलमा कोरियाली, रुसी, चिनियाँ, फ्रेन्चका साथै जापानी परिकार पनि उपलब्ध छ ।

त्यसबाहेक रेलभित्र किमका लागि विशेष कार्यालय बनाइएको छ । रेलभित्र शयनकक्ष, शौचालय, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि बेग्लै डिब्बाहरुको व्यवस्था गरिएको छ ।