पानी पर्न कम भएसँगै काठमाण्डौ उपत्यकासहित देशैभर गर्मी बढेको छ । आज र भोलि गर्मी अझै बढ्ने अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सबैभन्दा धेरै धनगढीको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
यस्तै काठमाण्डौको तापक्रम २९ देखि ३१ डिग्रीसम्म पुग्ने मौसमविद हरिप्रसाद दाहालले जानकारी दिए । उहाँका अनुसार केही दिनदेखि मनसुन कोशी प्रदेशमै अड्किएकाले देशभर मनसुनी वर्षा हुन सकेको छैन । गएको १४ गते कोशी प्रदेशबाट मनसुन भित्रिएको हो । मनसुन भित्रिएसँगै ठूलो पानी परे पनि त्यसपछि पानी नपर्दा तापक्रम बढीरहेको छ । यो हप्ताभित्र मनसुन देशभर फैलिन सक्ने मौसमविद् दाहालले बताए ।
अर्का मौसमविद् विनोद पोख्रेलका अनुसार पर्सि बुधवारदेखि केही ठाउँमा हल्का पानी पर्ने र बिहीवारदेखि उल्लेख्य वर्षाको सम्भावना छ । पर्सि बुधवारदेखि तापक्रम घट्दै जाने र वर्षा बढ्दै जाने उहाँको भनाइ छ । अहिले देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका धेरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै ठाउँहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई ठाउँ हिमपातको पनि सम्भावना छ ।