७० यात्रु क्षमताको विमान अब काठमाडौँबाट सिधा तुम्लिङटार

Yangle News
Yangle News
२०८० जेष्ठ २ गते
७० यात्रु क्षमताको विमान अब काठमाडौँबाट सिधा तुम्लिङटार

 

संखुवासभाको तुम्लिङटार विमानस्थलमा आजदेखि ७० यात्रु क्षमताको फ्रेन्च–इटालियन विमान एटीआर–७२ ले काठमाडौंबाट सिधा उडान थालेको छ । नेपालकै सबैभन्दा गहिरो अरुण उत्पत्यकामा रहेको  विमानस्थलमा यसअघि १९ देखि ५० सिट क्षमताका विमानले मात्रै उडान भर्दै आएका थिए ।

बुद्ध एयरको एटीआर–७२ विमानले परीक्षण उडान सफल भएको झन्डै एक वर्षपछि तुम्लिङटारमा ठूलो एटीआर विमानबाट व्यावसायिक उडान सुरु गरेको विमानस्थलका प्रमुख भानु कोइरालाले बताए ।

‘सातामा ५ दिन ७० यात्रु क्षमताको एटीआर र २ दिन ४७ यात्रु क्षमता भएको एटीआर–४२ विमानबाट व्यावसायिक उडान हुने प्रमुख कोइरालाले जानकारी दिए ।

नेपालमा पोखरा र सुर्खेतपछि यो विमानले मध्यपहाडको खोचमा पर्ने तेस्रो गन्तव्य तुम्लिङटारमा व्यावसायिक उडान थालेको छ । २०२९ सालदेखि उडान शुरु भएको तुम्लिङटारमा १९ देखि ५० सिट क्षमताका विमानले उडान गर्थे । कोभिड महामारीपछि मकालु हिमाल आरोहण जाने पर्यटक तथा व्यवसायी र स्थानीयको चाप बढेपछि बुद्धले गत वर्ष जेठ २१ मा पहिलोपटक ठूलो जहाजबाट परीक्षण उडान गरेको थियो । उक्त उडानको प्रतिवेदनपछि नागरिक उड्डयन प्राधिकरणले तुम्लिङटारमा एटीआर–७२ लाई पनि उडान अनुमति दिएको थियो ।

यो विमानस्थल समुन्द्र सतहबाट १३ सय १६ फिट उचाइमा पर्छ । काठमाडौंबाट ३५ मिनेटको हवाई दुरीमा रहेको यो विमानस्थलको धावनमार्गको लम्बाई १४ सय २० मिटर रहेको छ ।

321 views