बिस्का जात्रा : ढालियो ५५ हात लामो ‘योसिद्यः’, यस्तो छ ऐतिहासिक पक्ष

Yangle News
Yangle News
२०८२ बैशाख १ गते
बिस्का जात्रा : ढालियो ५५ हात लामो ‘योसिद्यः’, यस्तो छ ऐतिहासिक पक्ष

भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौ दिन आज भेलुखेलस्थित यसींख्योमा ५५ हात लामो यसीद्यः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको योसिंद्यःलाई तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ६ बजेर ३२ मिनेटमा ढालिएको हो ।

भैरवनाथको प्रतीक मानिने योसिंद्यःमा बाटिएको अष्टमात्रिकाको प्रतीक आठ वटा डोरी फुकाएर सबैतिर तानातान गरी ढाल्ने परम्परा छ । योसिद्यःको जात्रा सम्पन्न भइसकेपछि तलेजुमा दुमाजुको विषेश पूजाआजा गरी यसीँख्योमा रहेको भैलखः र भद्रकालीको रथलाई गःहिटि पुर्‍याइ रथ जुधाउने जात्रा गर्ने प्रचलन छ ।

यो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रुहरु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।

जात्राको ऐतिहासिक पक्षका सवालमा भने थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।

उनका अनुसार भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलोपल्ट जात्रालाई सम्बोधन गर्दा विश्वजात्रा उल्लेख गरिएको छ । यस्तै, भक्तपुरको दरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख छ ।

हाल पनि तलेजुमा बिस्का जात्राको संकल्पस्वरूप पूजा अर्चनामा विश्वजात्राको उल्लेख गरिन्छ । श्रेष्ठका अनुसार यी प्रमाणका आधारमा विश्वकेतु संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्का हुँदाहुँदै हाल बिस्केट हुन पुगेको हो ।

श्रेष्ठका अनुसार यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उनको शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीकका रूपमा लिंगोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको उनी बताउँछन् ।

हाल विभिन्न हल्लाका भरमा उक्त लिंगोमा फहर्राने ‘बि’को अर्थ सर्प र ‘स्यात’को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट आदिको नामले जात्रा मनाइएको केही संस्कृतिविद् बताउँछन् । ‘बि’ को अर्थ भएको र पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष आगमनको प्रतीक बिस्का भएको इतिहासकारहरुको तर्क छ ।

प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथ मन्दिरबाट ल्याइएको भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी पाँचतले मन्दिर प्रांगणबाट जात्रा सुरु गरिएको छ । स्थानीय टौमढी क्षेत्रमा बनाइको तीनतले भैरवनाथको रथ स्थानीयले रथको अगाडि पछाडि राखिएको डोरी तानातान गरेर क्वने (तल्लो) क्षेत्र र ठने (माथिलो) क्षेत्र तानेर जात्रा मनाउने चलन रहिआएको छ ।

स्थानीले रथको अगाडि पछाडि डोरी तानातान गरेर आआफ्नो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोलमा जहाँ लैजान सकिन्छ, त्यो टोल विजयी भएको मानिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो ।