सरकारले ३ वटा प्राथमिकता निर्धारण गरी अगाडि बढिरहेको छ: प्रधानमन्त्री प्रचण्ड

Yangle News
Yangle News
२०७९ माघ १७ गते
सरकारले ३ वटा प्राथमिकता निर्धारण गरी अगाडि बढिरहेको छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू नेतृत्वको सरकारले ३ वटा प्राथमिकता निर्धारण गरी अगाडि बढिरहेको बताएका छन्।

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफू नेतृत्वको सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका ३ प्राथमिकता निर्धारण गरी अगाडि बढिरहेको छ प्रचण्डको भनाइ छ।

नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको सुधार एवम् जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार रहेको पनि उल्लेख गरे।

‘सरकारको यस कार्यभारलाई गम्भीरतापूर्वक ग्रहण गर्न, आम स्रोता र दर्शकसम्म व्यवस्थित रूपमा सम्प्रेषण गर्न म नेपाल टेलिभिजन परिवारको ध्यान आकृष्ट गर्दछु,’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यवसायिक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताए। पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिने उनको भनाइ छ। सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बिमाको व्यवस्था गरिने पनि प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।

338 views