जेनजी मुभमेन्ट अलाइन्स (विभिन्न जेनजी समुदायहरुको ऐक्यवद्ध समूह)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको राजीनामा माग गरेका छन् । समूहले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र अन्य आयुक्तहरूलाई स्वेच्छिक राजीनामा दिन भनेका हुन् ।
समूहले जारी गरेको विज्ञप्तिअनुसार आयोगको नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाबिना भएकाले आयोगको विश्वसनीयतामा प्रश्न उठेको हो । समूहले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भदौ २३ गतेदेखि सुरु गरिएको हाम्रो आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो । तर, अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाबिना भएको कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन् ।’
समूहले आयोगको अभियोजन प्रणाली र प्रमुख आयुक्तको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ । केही समयअघि विशेष अदालतले आयोगले व्यक्ति विशेषलाई प्रभावित हुने गरी मुद्दा दर्ता गर्ने गरेको उल्लेख गरेको थियो । समूहले यो मुद्दालाई पनि आधार बनाएर राईमाथि प्रश्न उठाएको हो ।
अदालतको निर्णयमा प्रमुख आयुक्त राईको ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’सम्बन्धी टिप्पणीले राईको राजीनामा माग झनै बलियो भएको समूहको तर्क छ । विगतमा राईको नाम जोडिएका केही मुद्दाको विषयमा पनि समूहले उल्लेख गरेको छ । अलाइन्सका अनुसार नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई आयोगको प्रमुख राईको नाम मुछिएको छ ।
समूहले विज्ञप्तिमा भनेको छ, ‘यी घटनाहरूमा प्रत्यक्ष वा नियामक हैसियतमा संलग्न रहेकाले प्रमुख आयुक्तको नैतिक जिम्मेवारी बनेको छ । अतः तत्काल राजीनामा दिनु नै अख्तियारको गरिमा र विश्वास पुनस्स्थापना गर्ने बाटो हो ।’
उनीहरूले स्वेच्छिक राजीनामा माग गर्नुको कारण चाहिँ संसद नभएकोले भनेका छन् । प्रतिनिधिसभा विघटन भएका कारण महाअभियोगमार्फत हटाउन नमिल्ने भएकाले राजीनामाबाट पदमुक्त गर्नु खोजेको उल्लेख गरेका छन् । अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत निष्पक्ष नियुक्ति समिति गठन गरी नयाँ आयुक्तहरू नियुक्त गर्न पनि आग्रह गरिएको छ ।
विज्ञप्ति :