चैत २७ यता देशका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङले आठ जनाको ज्यान लिइसकेको छ ।
पछिल्लो तीन दिनभित्र २८ जना घाइते भएका छन् । प्रि-मनसुन सक्रिय भएसँगै चट्याङले मानिसको ज्यान लिने क्रम बढेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार यस वर्ष वैशाखदेखि चैत २८ गतेसम्ममा ७८ जनाको मृत्यु चट्याङकै कारण भएको छ । यो एक वर्षमा चट्याङबाट घाइते हुनेको संख्या ३ सय ९ पुगेको छ । चट्याङले हालसम्म ५ सय ५६ घरपरिवार प्रभावित भएका छन् । जसबाट करिब एक करोड ४३ लाख रुपियाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
चट्याङबाट आमनागरिकको जीवनरक्षाका लागि प्राधिकरणले सचेतना अभिवृद्धिको पहल गरिरहेको केसीले जानकारी दिए । उनले भने, ‘फेसबुक, एक्स, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमार्फत चट्याङबाट बच्ने/बचाउने सूचना प्रवाह गरिरहेका छौं । अनि आमसञ्चारमाध्यमबाट पनि सचेतना दिइरहेका छौं ।’ बदलिँदो मौसममा चट्याङबाट तत्काल थप सतर्क बनाउँदै पूर्वसूचना दिने उद्देश्यले ‘सतर्क’ नामको पूर्वसूचना कार्यक्रम अघि सारिएको छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्री मनसुनमा वायुमण्डलमा बादलको घनत्व घटबढ तथा उतारचढाव हुँदा चट्याङ पर्ने वातावरण बन्छ । त्यसैले वर्षा हुने वातावरण बनेपछि बाहिर ननिस्कने, यात्रा नगर्ने, खेतबारीमा काम नगर्ने जस्ता सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।
घरभित्रै बस्ने, यात्रामा भए गाडीमै बस्ने र खुला आकाशमुनि भएमा हातले टाउको छोपेर घुँडा टेकेर बस्नुपर्ने सुझाव उनले दिइन् । रुख तथा बिजुलीको पोलमुनि कदापि बस्न नहुने उनले बताइन् । घरभित्रै पनि बिजुलीका काम बन्द गर्ने, मोबाइल, टेलिभिजन आदि नचलाउने, बत्ती तथा इन्टरनेट बन्द गर्नु पर्छ । झ्याल तथा ढोकामा उभिएर बाहिर नहेर्ने र मोबाइलले बाहिरका फोटो खिच्ने काम पनि नगर्न मौसमविद्हरू सुझाउँछन् ।
प्रि-मनसुनको समयमा नेपाल, भारत, बंगलादेश र भुटानसहितका दक्षिण एयिसाली देशमा बढी चट्याङ पर्ने गरेको छ ।