इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले विश्वको तेल आपूर्तिको लागि महत्त्वपूर्ण ढुवानी मार्ग, हर्मुजको जलडमरू बन्द गरेको बताएको छ । यो बाटोबाट गुज्रने कुनै पनि जहाजलाई रोकिने र सम्भावित रूपमा लक्षित गरिने आईआरजीसीका एक अधिकारीले राज्य टेलिभिजनलाई बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारतको लगभग ५० प्रतिशत तेल हर्मुजको जलडमरूमध्यबाट आउँछ, जुन नेपालसम्म आइपुग्छ । भारत मात्रै होइन, यो समुद्री मार्गबाट विश्वको लगभग २० प्रतिशत तेल गुज्रन्छ । यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि गराएको छ र कच्चा तेल प्रति ब्यारेल लगभग ८० डलर पुगेको छ । यदि स्थिति बिग्रियो भने मूल्य १०० डलरसम्म पुग्न सक्ने समाचारमा उल्लेख छ ।
अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार, यहाँबाट आपूर्ति हुने अधिकांश तेल चीन, भारत, जापान र दक्षिण कोरियाजस्ता एसियाली देशहरूमा जान्छ । यसबाहेक, जेट इन्धन र एलएनजीको आपूर्ति पनि प्रभावित हुन सक्छ । यदि यो मार्ग बन्द भयो भने विश्वव्यापी ऊर्जा आपूर्ति र अर्थतन्त्र प्रभावित हुन सक्ने समाचारमा उल्लेख छ । तर, फक्स न्यूजको रिपोर्टअनुसार इरानी अधिकारीहरूको बयानका बाबजुद पनि अमेरिकी केन्द्रीय कमान्डले हर्मुजको जलडमरूमध्य बन्द नभएको दाबी गरेको छ ।
हर्मुज जलडमरूलाई विश्वको ऊर्जा जीवनरेखा मानिन्छ, जसले विश्वव्यापी तेलको पाँचौं भाग बोक्छ । यो साँघुरो समुद्री मार्गले फारसी खाडीलाई ओमानको खाडीसँग जोड्छ र अरब देशहरूको लागि प्रमुख तेल मार्ग हो । यदि यो मार्ग बन्द भयो भने, साउदी अरेबिया, कुवेत र इराकजस्ता देशहरूमा तेल आपूर्ति पूर्ण रूपमा अवरुद्ध हुन सक्छ ।
विज्ञहरू विश्वास गर्छन् कि यस जलमार्गमा हुने कुनै पनि सैन्य गतिविधिले ठूलो विश्वव्यापी युद्ध निम्त्याउन सक्छ । इरान र ओमानले यस क्षेत्रलाई नियन्त्रण गर्छन् र यसबाट व्यापारी जहाजहरूको आवतजावत अन्तर्राष्ट्रिय कानूनको अधीनमा छ । स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग हो र तेल पारवहनका लागि सबैभन्दा महत्वपूर्ण ‘चोक पोइन्ट’ हो । उत्तरी भाग इरानले र दक्षिणी भाग ओमान तथा यूएईले घेरेको यो मार्ग प्रवेश र निर्गमन बिन्दुमा करिब ५० किलोमिटर चौडा र सबैभन्दा साँघुरो भागमा करिब ३३ किलोमिटर चौडा छ ।
यो जलडमरूमध्य विश्वका सबैभन्दा ठूलो तेल बोक्ने ट्यांकरहरूका लागि पर्याप्त गहिरो छ र मध्यपूर्वका प्रमुख तेल तथा ग्यास उत्पादक देशहरू र तिनका ग्राहकहरूले प्रयोग गर्छन् । सन् २०२५ मा अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए)का अनुमानअनुसार दैनिक करिब २० मिलियन ब्यारेल तेल स्ट्रेट अफ होर्मुज हुँदै पार भएको थियो । वार्षिक झन्डै ६०० अर्ब डलर बराबरको ऊर्जा व्यापार यस मार्गबाट भएको छ ।