ओपेकबाट यूएई बाहिरिँदा विश्व तेल बजारमा के असर पर्छ ?

Yangle News
Yangle News
२०८३ बैशाख १६ गते
ओपेकबाट यूएई बाहिरिँदा विश्व तेल बजारमा के असर पर्छ ?

संयुक्त अरब इमिरेट्स (यूएई)ले प्रमुख तेल उत्पादक देशहरुको संगठन, पेट्रोलियम निर्यातक राष्ट्रहरूको संघ (ओपेक)बाट बाहिरिने घोषणा गरेसँगै विश्वको तेल राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।

यूएई सन् १९६७ मा यसमा सामेल भएको थियो । यसअघि केही वर्ष पहिले कतार, इण्डोनेशिया र इक्वेडरले आफूलाई उक्त संस्थाबाट निष्क्रिय रहेको घोषणा गरेका थिए । त्यसैले ओपेकबाट यूएई बाहिरिनु उसको स्वअधिकारको मानिए पनि अहिले अमेरिका र इरानबीच युद्ध चलिरहेको र तेलको मूल्य आकासिएकै बेला यो निर्णय सार्वजनिक हुनु निकै अर्थपूर्ण रहेको विश्लेषण भइरहेको छ ।

करिब ६० वर्षपछि यूएईले यस्तो निर्णय लिइरहेको छ जब इरान युद्धले ऐतिहासिक रूपमा विश्वभर ठूलो ऊर्जा संकट निम्त्याएको छ र विश्व अर्थतन्त्रलाई हल्लाएको छ । यूएईका ऊर्जामन्त्री सुहेल अल मजरुईले आफ्नो देशले पर्याप्त सोचविचार गरेर यो निर्णय गरेको हो । र, यो निर्णयबाट पछि हट्ने सम्भावना छैन ।

सन् १९६० मा पाँच देश इरान, इराक, कुवेत, साउदी अरेबिया र भेनेजुएलाले तेल निर्यातकर्ताहरूको हितको रक्षा गर्न, उत्पादन समन्वय गर्न र सदस्यहरूको लागि स्थिर आय सुनिश्चित गर्न ओपेकको स्थापना गरेका थिए । ती देशहरुको साथै अहिले यूएई, अल्जेरिया, इक्वेटोरियल गिनी, ग्याबोन, लिबिया, नाइजेरिया र कंगो गणतन्त्र पनि समावेश छन् ।

एमएसटी फाइनेन्शियलमा ऊर्जा अनुसन्धानका प्रमुख शाऊल काभोनिकले भने कि यो गठबन्धनको अन्त्यको सुरुवात हुन सक्छ । उनका अनुसार यूएई बाहिरिएपछि ओपेकले आफ्नो क्षमताको करिब १५ प्रतिशत गुमाउनेछ । अर्थशास्त्री मोनिका मलिक युद्ध रोकिएपछि यूएईका लागि विश्व बजारमा आफ्नो हिस्सा बढाउन बाटो खुल्नेछ । उनले यो कदम उपभोक्ता र विश्व अर्थतन्त्रका लागि फाइदाजनक हुने बताए ।

यो निर्णयलाई ओपेक र खासगरी साउदी अरबका लागि एक झट्का मानिएको छ, जुन यस समूहको सर्वोच्च नेता मानिन्छ । बेलायती अखबार द गार्जियनका अनुसार, यूएई जस्तो लामो समयदेखि रहेको ओपेक सदस्यको बहिष्करणले समूहमा अराजकता सिर्जना गर्न सक्छ र यसलाई कमजोर बनाउन सक्छ, भूराजनीतिदेखि उत्पादन कोटासम्मका धेरै मुद्दाहरूमा ठूलो प्रभाव पार्न सक्छ । ब्ल्याक ओपेकको पछिल्लो तथ्यांकअनुसार, यूएईले वार्षिक २९ लाख ब्यारेल तेल उत्पादन गर्दछ । ओपेकको सबैभन्दा ठूलो उत्पादक साउदी अरबले वार्षिक ९० लाख ब्यारेल तेल निकाल्छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार विश्वव्यापी तेल उत्पादनमा ओपेक प्लसको हिस्सा मार्चमा ४४ प्रतिशतमा झरेको छ, जुन फेब्रुअरीमा ४८ प्रतिशत थियो । अप्रिल र मेमा यो अझै घट्ने सम्भावना छ, किनकि उत्पादन कटौती अधिक देखिन्छ ।