एक वर्षमा १३७ भ्रष्टाचार मुद्दा

Yangle News
Yangle News
२०८२ साउन १२ गते
एक वर्षमा १३७ भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा १३७ वटा भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा (२०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा) १३७ मुद्दामा ७५३ जनालाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ । उनीहरूसँग पाँच अर्ब ९७ करोड ७३ लाख ८ हजार ८३८ रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरणमा उल्लेख छ ।

दायर गरिएका मुद्दामा घुस/रिसवतसँग सम्बन्धित ३७ वटा, गैरकानुनी लाभ वा हानीसँग सम्बन्धित ३६ वटा, झुट्टा/नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तिको हानी नोक्सानीसँग सम्बन्धित २३ वटा छन् ।

यस्तै, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी आठ, सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई र विविध विषयका चार मुद्दा छन् । रंगेहात कारबाही २२ वटा भएकामा ३३ जना व्यक्ति नियन्त्रणमा लिई उनीहरूबाट ५५ लाख १० हजार रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा आयोगमा विभिन्न माध्यमबाट ३७ हजार २६ उजुरी थिए । ती उजुरीमध्ये २८ हजार ५९७ उजुरी गत आर्थिक वर्षमात्र परेका थिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ बाट जिम्मेवारी सरेर आठ हजार ४२९ उजुरी आएका थिए ।

अख्तियारले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २०१ वटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो । ती मुद्दामा एक हजार ५२० जनालाई प्रतिवादी बनाइएको थियो । आठ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रुपैयाँ ४६ पैसा बिगो मागदाबी गरिएको थियो ।