लुम्बिनी प्रदेशको विश्व पर्यटन दिवस, दाङको घोराहीमा

Yangle News
Yangle News
२०८१ अशोज १० गते
लुम्बिनी प्रदेशको विश्व पर्यटन दिवस, दाङको घोराहीमा

 

लुम्बिनी प्रदेश सरकारले ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा दाङमा महोत्सवको आयोजना गर्ने भएको छ । प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज ११ गते महोत्सव मनाउन लागिएको हो ।

जिल्ला समन्वय समिति घोराहीको खुल्ला मञ्चमा आयोजना गरिने कार्यक्रमको नारा ‘पर्यटन, न्याय र शान्ति’ रहेको मूल समितिका संयोजक उपमहानगरपालिकाका कार्यवाहक प्रमुख हुमाकुमारी डिसीले जानकारी दिइन् । कार्यक्रमका लागि विभिन्न नौवटा उपसमिति बनाइएको छ ।

महोत्सवमा प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका पहिचान झल्किने लोक सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत हुनेछन् ।

लुम्बिनी प्रदेशका १० प्रकारका जातीय लोक नृत्य तथा सङ्गीत, गन्दर्भ समुदायको सारङ्गी धून, थारू जातिको बड्का नाच, देउखुरीको थारू जातिको कठघोरी नाच, सखिया नाच, पाल्पाको कौडा नाच, मगरको भुम्या नाच र सरङ्गे- मयूर नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

उत्कृट झाँकी र नृत्यहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाकै सहभागिता रहनेछ । आगन्तुक पर्यटकलाई जिल्लाका पर्यटकीय क्षेत्रमा घुमाउने व्यवस्था पनि गरिएको छ ।

यहाँको पर्यटन विकास र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमको तयारी पूरा भएको प्रचारप्रसार उपसमितिका संयोजक दुर्गालाल केसीले जानकारी दिए ।