एनपीएलमा विराटनगर किङ्गसको पहिलो हार

Yangle News
Yangle News
२०८२ मंसिर १० गते
एनपीएलमा विराटनगर किङ्गसको पहिलो हार

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किंग्सले पहिलो हार व्यहोरेको छ । आज सम्पन्न प्रतियोगिताको १२औं खेलमा चितवन राइनोजले विराटनगरलाई ४८ रनले पराजित गरेको हो ।

चितवनको जितमा रञ्जित कुमारले उत्कृष्ट पाँच विकेट लिए । चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६.५ ओभरमा १२६ रन मात्र जोडेर अलआउट भयो । विराटनगरका लागि मर्चेन्ट डी लाङ्गेले सर्वाधिक ३९ रन बनाए । उनले २२ बलमा २ चौका र ४ छक्का प्रहार गरे । विराटनगरका ओपनरद्वय लोकेश बम र जर्ज मुन्से क्रमशः ७ र ४ रन बनाउँदै पेभेलियन फर्किदा साम हेज्जलेटले ११ बलमा ३ छक्कासहित २२ रन बनाए । वसिर अहमद डकआउट हुँदा पावरप्लेमा विराटनगरको ब्याटिङ धरापमा परेको हो ।

पावरप्लेमा ४ विकेट गुमाउँदै ३६ रन बनाएको थियो । पाँचौं विकेटको रूपमा नरेन भट्टको विकेट गयो । नरेनले १० बलमा ४ रन मात्रै बनाए । शुभम रञ्जाने, नारायण जोशीले क्रमशः ६ र ४ रन बनाए । सूर्य तामाङ डकआउट भए । १५.२ ओभरमा विराटनगरले ८ विकेटको क्षतिमा १०० रन पूरा गर्‍यो । नवौं विकेटको रूपमा मर्चेन्ट डी लाङ्गेको विकेट गयो । अन्तिम विकेटको रूपमा कप्तान सन्दीप लामिछाने क्रिजमा आएका थिए । प्रतिश जिसी ३० रनमा बोल्ड हुँदा सन्दीप लामिछाने ४ रनमा अविजित रहे । चितवनका लागि बलिङतर्फ रञ्जित कुमारले ५ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए । कमल सिंह ऐरीले २ विकेट लिँदा सोहिल तान्भिर, कुशल मल्ल र सैफ जैबले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । चितवनका लागि रबी बोपाराले सर्वाधिक ६५ रन बनाए । उनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । ४ बलमा ४ रन हुँदा नरेन भट्टले गरेको १० औँ ओभरको पाँचौं बलमा रवि बोपाराको क्याच प्रतिश जिसीले मिस गरे । ४ रनमा जीवनदान पाएका बोपाराले अर्धशतकीय पारी खेलेका थिए । उनले पाँचौं विकेटको लागि कप्तान कुशल मल्लसँग ५६ रनको साझेदारी गरे ।

पहिलो विकेटको रूपमा दीपक बोहोरा १.३ ओभरमा ५ रनमा क्याच आउट भए । चितवनका लागि आक्रामक सुरुवात गरेका डेविड मलानले ९ बलमा ३ चौका सहित १७ रन बनाउँदै मर्चान्ट डी लाङ्गेको बलमा बोल्ड भए । पावरप्लेमा २ विकेट गुमाउँदै ४७ रन बनाएको थियो  । तेस्रो विकेटको रूपमा देव खनालको विकेट गयो । उनले तेस्रो विकेटको लागि सैफ जैबसँग ४२ रनको साझेदारी गरे । पछिल्लो २ खेलमा सस्तैमा पेभेलियन फर्किएका देवले तेस्रो खेलमा आएर २८ रन बनाए ।

Yangle News

चौथो विकेटको रूपमा सैफ जैबको विकेट गयो । उनले ३० बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३२ रन बनाउँदै क्याच आउट भए । उनले चौथो विकेटको रूपमा रबी बोपारासँग ४९ रनको साझेदारी गरे । कप्तान कुशल मल्ल २० र अमर सिंह रौतेला ३ रनमा अविजित रहेका थिए । विराटनगर किंग्सका लागि बलिङमा मर्चेन्ट डी लाङ्गे र सन्दीप लामीछानेले समान २/२ विकेट र शुभम रञ्जानेले १ विकेट लिए ।

विराटनगरले यसअघिका ३ खेलमा ३ जित सहित अपराजित रहेको थियो । विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो । दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेट र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो । हालसम्म ३ खेलमा अपराजित रहँदै सुदूरपश्चिम रोयल्स ६ अंकसहित शीर्षस्थानमा रहेको छ ।

चितवनले यसअघिको २ खेलमा १ मा जित र १ मा हार बेहोरेको थियो । चितवन गोर्खाजले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले हारेको थियो ।

भोलि दुई खेल हुनेछन् । पहिलो खेल ११:४५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिमच रोयल्सबीच सुरु हुनेछ । जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले बेलुकी ४ बजे हुने खेलमा प्रतिस्पर्धा गर्नेछन् ।