एनसीआरएस र एनडीआरआईले गरे लिटरेचर फेस्टिभल आयोजकको ध्यानाकर्षण

Yangle News
Yangle News
२०८० फाल्गुन १ गते
एनसीआरएस र एनडीआरआईले गरे लिटरेचर फेस्टिभल आयोजकको ध्यानाकर्षण

 

सूर्तीजन्य पदार्थ उत्पादक कम्पनीको मुख्य प्रयोजनमा भोलीबाट पोखरामा हुन लागेको नेपाल लिटरेचर फेस्टिभल २०२४ को आयोजनालाई लिएर नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)  र नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) ले आपत्ति जनाएका छन् । संयुक्त वक्तव्य जारी गर्दै आयोजक बुकवार्म फाउण्डेसनको ध्यानाकर्षण गराएका छन् ।

फागुन ७ गतेसम्म हुने साहित्य महोत्सवमा सूर्य नेपालको लोगोसहित प्रचारप्रसार गरिनु कानूनविपरीत रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) का अध्यक्ष डाक्टर जयकुमार गुरुङ र नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) का महासचिव दीपेन्द्र बान्तवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सूर्तीजन्य पदार्थको उत्पादक कम्पनी सूर्य नेपालको प्रचारप्रसार गरिएको छ, जुन कानुनविपरीत छ । त्यसैले यस कार्यक्रमका आयोजक संस्था बुकवार्म फाउन्डेसनलाई कानूनविपरीत कार्य नगर्नु हुन ध्यानाकर्षण गराउँदछौं । साथै सहभागीहरुलाई पनि कानूनतर्फ ध्यानाकर्षण गर्दै कानूनविपरीत सहभागी नहुन अपिल गर्दछौं ।’

सरकारले सूर्तीजन्य पदार्थको न्यूनीकरण, नियन्त्रण तथा नियमनका लागि सूर्तीजन्य पदार्थ ऐन २०६८, नियमावली २०६८ तथा निर्देशिका २०६९ समेत कार्यन्वयनमा ल्याइसकेको छ । सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइनेसम्बन्धी भनिएको छ, ‘उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, इमेल जस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ बोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिह्न, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्पेषण वा प्रायोजन गर्न पाउने छैन ।’

यसैगरी सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २२ मा संस्थागत सामाजिक उत्तरदायित्वको नाममा काम गर्न नपाउने कुरा स्पष्ट उल्लेख गरिएको छ । जसको उपदफा २ र ८ मा भनिएको छ, ‘सरकारी वा गैरसरकारी वा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग गर्न पाउने छैन । कसैले पनि उत्पादकलगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउने छैन । उत्पादकलगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन ।’

साथै सार्वजनिक व्यक्तित्वहरुले पनि यस्ता सूर्तीजन्य उद्योगबाट प्रायोजित बैठक, भ्रमण, तालिम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रममा सहभागिता स्वीकार गर्न नहुने २०७१ को निर्देशिकाले उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आयोजकले फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरुलाई सहभागी गराउने भनी प्रचार गरिएको छ । कानून कार्यन्वनयमा प्रत्यक्ष सरोकार राख्ने व्यक्तित्वहरुले नै कानूनको कार्यान्वयन नगरी धज्जी उडाउनु विडम्बना हो ।’

नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ जना अर्थात् प्रतिघण्टा ४ जनाले ज्यान गुमाइरहेका छन् । जुन संख्याले नेपालको जम्मा मृत्युको १९.४१ प्रतिशत ओगट्छ । सूर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने रोगहरु जस्तै क्यान्सर, स्वासप्रश्वाससम्बन्धी रोगहरुलगायत विभिन्न र फोक्सोसम्बन्धी रोगहरु लाग्ने गरेको छ ।

(विज्ञप्ति)

Yangle News

Yangle News