शुक्रबारबाट नेपाली महिला भलिबल टोलीले घरेलु मैदानमा काभा महिला च्याम्पियनसिप खेल्दैछ । यसमा नेपालसहित ८ टोलीले भाग लिँदैछन् ।
प्रतियोगितामा नेपालसहित भारत, कीर्गिस्तान र माल्दिभ्स समूह ए मा छन् भने इरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह बीमा छन् । प्रतियोगिताका लागि आफूहरू पूर्ण तयार रहेको ८ वटै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् । उनीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने दाबीसमेत गरे ।
नेपाली महिला टिमकी कप्तान निरुता ठगुन्ना अनुभवी र युवा खेलाडीसहित टिम तयार रहेको बताएकी छन् । उनले बिहीबार आयोजना भएको प्रिम्याच प्रेस कन्फ्रेन्समा नेपालको टोली प्रतियोगिताको लागि तयार रहेको बताएकी हुन् ।
छोटो समयमा अनुभवी र नयाँ खेलाडीहरुसहित टिमको तयारी राम्रो भएको उनको भनाई छ । ‘टोलीमा नयाँ र पुराना खेलाडीको संयोजन रहेकाले यसपाली उपाधि जित्नेमा आशावादी छौं,’ कप्तान ठगुन्नाले भनिन् । उनको नेतृत्वमा नेपालले पहिलो पटक प्रतियोगिता खेल्दै छ ।
च्याम्पियनसिपका लागि ठगुन्नाको कप्तानीमा नेपालले १४ सदस्यीय टोली घोषणा गरेको छ । टोलीका अन्य खेलाडीहरुमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, अलिशा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, मिना सुनार, प्रगति नाथ र जशना महतो तथा मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट रहेका छन् ।
काभाको अघिल्लो संस्करणको विजेता भारत पनि उपाधि रक्षा गर्ने दाउमा रहेको छ । भारतीय टिमकी कप्तान नन्दना वलप्पिलले छोटो समयको तयारी रहे पनि आफूहरु उपाधि रक्षा गर्नेमा विश्वस्त रहेको बताइन् । त्यस्तै अन्य टोली पनि आफूहरु प्रतियोगिताको लागि तयार रहेको बताइन् ।
नेपालले समूह एको पहिलो खेल शुक्रबार भारतसँग खेल्दैछ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ ।