वैदेशिक रोजगारीका लागि कात्तिक महिनामा ७० हजारभन्दा बढी नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएका छन् । जसमा ६२ हजार ८ सय ९० पुरुष र आठ हजार एक सय महिला रहेका छन् ।
व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको सङ्ख्या १२ हजार ५ सय ९८ रहेको छ । जसमा १० हजार २ सय ६८ पुरुष र दुई हजार ३ सय ३० महिला रहेका छन् । त्यस्तै संस्थागत अर्थात मेनपावर मार्फत श्रम स्वीकृति लिएर २३ हजार ५ सय ५६ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् ।
कात्तिकमा ६ सय ७० जना मात्रै जी टु जी मार्फत गएका छन् । चालु आर्थिक वर्षको चार महिनामा करिब साढे २ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनदेखि कात्तिक मसान्तसम्ममा दुई लाख २७ हजार ८३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।
व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरूको सङ्ख्या बढ्दो क्रममा छ । भने संस्थागत श्रम स्वीकृति लिएर जानेहरूको सङ्ख्या घट्दो छ ।
असोजमा ८ हजार ९ सय ३८ जना व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश गएका थिए भने कात्तिकमा १२ हजार ५ सय ९८ जना गएका छन् ।