सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक/एक जना प्रतिनिधि सदस्य रहनेछन् । त्यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।
बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल सहभागी थिए । यस्तै नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भीम बुढा, नापी विभागका निर्देशक दयानन्द जोशी र नापी अधिकृत ज्योति ढकालको सहभागिता थियो । उक्त विषयमा सघन छलफलपछि समिति गठन भएको सचिवालयले जनाएको छ ।
यसैबीच, गृह मन्त्रालयले हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको हो ।
गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा आज बसेको आकस्मिक बैठकले उक्त छानबिन टोली गठन गरेको सहसचिव आनन्द काफ्लेले बताए । टोलीलाई तुरुन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
गृह मन्त्रालयका अनुसार हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको छ । विज्ञप्तिमा भनिएको छ,‘सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्थालाई थप मजबुत बनाउन मन्त्रालयले जिल्ला सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता अपनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी सुरक्षा रणनीति अख्तियार गर्न समेत निर्देशन दिइसकेको छ । यसका साथै, स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न मन्त्रालयले दुवै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।’
विवाद्को स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवम् सरोकारवाला निकायहरूसँग समेत पटक-पटक समन्वयात्मक बैठकहरू आयोजना गरी सघन पहलकदमी अगाडि बढाएको मन्त्रालयको भनाई छ । नागरिकको जीउधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न गृह मन्त्रालय पूर्ण प्रतिबद्ध रहेको र दुवै जिल्लाका नागरिकहरूलाई संयमता अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण तथा सीमाको विषयलाई लिएर मंगलबार विवाद भएको थियो । उक्त घटनामा ६ जना घाइते भएको जनाइएको छ ।