एटलान्टिक महासागरमा यात्रा गरिरहेको एउटा पानीजहाजमा हान्टा भाइरस संक्रमण फैलिएको घटनाले अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सर्वसाधारणमा यसको जोखिम अत्यन्त कम रहेको जनाएको छ ।
डब्ल्यूएचओले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यतः अत्यन्त नजिकको सम्पर्कबाट मात्र फैलिने भएकाले व्यापक महामारीको खतरा नरहेको बताएको छ । डब्ल्यूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले स्विट्जरल्यान्डको जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा हान्टा भाइरस गम्भीर र घातक हुन सक्ने भए पनि यसको संक्रमण क्षमता सीमित रहेको बताए । उनका अनुसार यो भाइरस संक्रमित व्यक्तिको अत्यन्त नजिकमा लामो समय बस्ने मानिसहरूमा मात्र सर्ने सम्भावना धेरै हुन्छ ।
अर्जेन्टिनाको उशुआइयाबाट केप भर्डेतर्फ जाँदै गरेको बेलायती पानीजहाज ‘एमभी होन्डियस’मा देखिएको संक्रमणले विभिन्न देशका स्वास्थ्य निकायलाई सतर्क बनाएको छ । जहाजमा अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ भने डब्ल्यूएचओको पछिल्लो विवरणअनुसार पाँच जनामा संक्रमण पुष्टि भएको छ । थप तीन जनामा संक्रमणको आशंका गरिएको छ र उनीहरूको परीक्षण तथा निगरानी भइरहेको खबरमा उल्लेख छ ।
जहाजमा संक्रमण कसरी शुरू भयो भन्नेबारे अनुसन्धान चलिरहेको छ । स्वास्थ्य अधिकारीहरूले यात्रुहरूको गतिविधि, उनीहरूको सम्पर्क इतिहास तथा जहाजमा रहेका सम्भावित संक्रमण स्रोतबारे अध्ययन गरिरहेका छन् । डब्ल्यूएचओले सदस्य राष्ट्रहरूलाई सतर्क रहन आग्रह गरे पनि तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको जनाएको छ । संगठनले तथ्यमा आधारित स्वास्थ्य सतर्कता अपनाउन र अफवाह तथा अतिरञ्जित सूचना फैलिन नदिन पनि आग्रह गरेको छ ।
हान्टा भाइरस के हो ?
हान्टा भाइरस मुसाबाट मानिसमा सर्ने गर्छ । मुसाको पिसाब, पसिना, खकार, थुकलगायत तरल पदार्थको सम्पर्कमा आएमा यो भाइरस सर्छ । कहिलेकाहीं मुसा बसेको ठाउँमा सफाइ गर्दा हावाको माध्यमबाट पनि सर्न सक्छ । पहिचानमा आएका हान्टा भाइरसका भेरिएन्टमध्ये एन्डिस स्ट्रेनमात्रै मानिसबाट मानिसमा सर्ने भेरिएन्ट हो । यो भेरिएन्ट चिली र अर्जेन्टिनामा समय-समयमा फैलिने गरेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार क्रुज-सिपमा यही भेरिएन्ट फैलिएको जनाएको छ ।