नारायणगढ- मुग्लिन सडकमा पहिरोमा परेर दुईवटा यात्रुबस बेपत्ता

Yangle News
Yangle News
२०८१ असार २८ गते
नारायणगढ- मुग्लिन सडकमा पहिरोमा परेर दुईवटा यात्रुबस बेपत्ता

नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेका छन् । सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स रहेको जनाईएको छ ।

सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु रहेका थिए । ३ जना यात्रु बसबाट हाम फालेर बाँचेका छन् । पहिरोमा परि बेपत्ता भएका दुईवटा बस खोज्न गोताखोर परिचालन भएका छन् । सशस्त्र प्रहरी बलको विपद्‌ व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार गरिरहेको छ ।

खोजी तथा उद्वारका लागि सशस्त्र प्रहरी बल र गोताखोर सहित ७० जना परिचालन गरिएको चितवन सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको हो ।