ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइतको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार, तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूको निःशुल्क रूपमा मोतिबिन्दुको पहिचान गरी शल्यक्रिया गर्ने छ ।
यसका साथै, विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न छात्रा/छात्रहरूको आँखा परिक्षण गरी आवश्यकता अनुसार निःशुल्क रूपमा चस्मा वितरण गरिने समेत समझदारी भएको छ । हस्ताक्षर समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताएका छन् । उनले भने, ‘हामीले यो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई सातै प्रदेशमा समान रूपमा पुर्याउने प्रयास गरेका छौं, किनकि हाम्रो विश्वास छ- हामी जहाँ व्यापार गछौं, जहाँबाट नाफा कमाउँछौं, त्यहीँ समाजप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व पनि रहन्छ ।’
उनले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकका ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा कार्यलयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहायता, दिगो विकास लक्ष्य तथा बेलाबेलामा आइपर्ने विभिन्न दैविक प्रकोपहरूमा उद्दार तथा राहतमा विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए ।
त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. रुइतले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौति दुवै रहेको बताउँदै ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताए । उनले आफूहरूले कुनै पनि कार्यक्रममा पारदर्शिता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको पनि उल्लेख गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपालकै ठूलो बैंक र तिलगंगाजस्तो प्रतिष्ठित संस्थाबिचको सहकार्यले बैंकलाई सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्न उत्साह मिलेको बताउँदै यस सहकार्यलाई आगामि दिनमा थप विस्तार गर्दै लैजाने बताए । हस्ताक्षर समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, बैंकका उच्च पदस्थ कर्मचारीलगायत प्रतिष्ठानका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।