‘सामाजिक सुरक्षा कोषमा जम्मा भएको अर्बौं रकम सही ठाउँमा लगानी गरौं’

Yangle News
Yangle News
२०८२ मंसिर ११ गते
‘सामाजिक सुरक्षा कोषमा जम्मा भएको अर्बौं रकम सही ठाउँमा लगानी गरौं’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं बढी रकम मुलुकका ठूला पूर्वाधारदेखि उत्पादनमुलक क्षेत्रहरूमा परिचालन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा ढकालले अहिले कोषमा ९५ अर्बभन्दा बढी रकम जम्मा भएको र त्यो रकम सही रूपमा सदुपयोग नभएको भन्दै चिन्ता व्यक्त गरे । लगानी गर्नका लागि कार्यविधि बाधक भए त्यसलाई सच्चाउनुपर्ने उनको भनाइ छ ।

कोषले उत्पादनमूलक क्षेत्रमा लगानी नगरेसम्म त्यसको अर्थ नरहने ढकालको भनाइ रहेको छ । ढकालले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरू अझै पनि धेरै सामाजिक सुरक्षाको दायरामा रहेको भन्दै तिनलाई तत्काल समेट्न आग्रह गरे ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन राज्यले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । ढकालका अनुसार साना तथा मझौला उद्योगहरूलाई सरकारको तर्फबाट सहुलियत दिएर त्यहाँ काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ ।

ढकालले भने, ‘अहिले वास्तवमा सबै पैसा चाहे फिक्समा भनौँ चाहे विभिन्न बन्डमा राख्ने गरिएको छ । यसलाई रोजगारी सिर्जना गर्ने र अवसर भएको उत्पादनमुलक क्षेत्रमा लगानी गरेर आम्दानी बढाउनुपर्छ । अहिलेको पोलिसि जुन छ, त्यो बाधक पनि रहेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।‘

औद्योगिक क्षेत्र, ट्रेड युनियन मजदुरबीचमा असल श्रम सम्बन्ध कायम गर्दै औद्योगिक वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । श्रमिकको कल्याणका लागि कोषसँग निजी क्षेत्र सहकार्यका लागि तयार रहेको छ । असल सुमधुर सम्बन्ध कायम गर्न उद्योग वाणिज्य महासंघ तयार रहेको उनको भनाइ छ ।

सामाजिक सुरक्षा कोषले एक खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको जनाएको छ । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ विभिन्न ठाउँमा लगानी गरिएको जानकारी दिए ।

उनले कार्यविधिबमोजिम मुद्दती खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरिएको बताए । कार्यकारी निर्देशक अधिकारीका अनुसार, ५८ अर्ब ८९ करोड बैंकका विभिन्न मुद्दतीमा लगानी गरिएको छ । ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, चार अर्ब ५२ करोड डिबेन्चरमा, एक अर्ब ९५ करोड म्युचुअल फन्डमा लगानी गरिएको छ ।

यस्तै, कोषले २० हजार योगदानकर्तालाई सापटीबापत सात अर्ब ७९ करोड ८३ लाख रुपैयाँ रकम लगानी गरेको छ । योगदानकर्ता सापटीअन्तर्गत कोषले वार्षिक ५.२ प्रतिशत ब्याजदरमा विशेष सापटी दिने गरेको छ । ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिइने अधिकारीले बताए ।

कोषमा श्रमिकको आबद्धताका निम्ति ११४ पालिकासँग ‘एमओयू’ गरिएको उनले बताए । केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको उनको भनाइ छ ।