जितका बाबजुद जर्मनी  फिफा विश्वकप को समूह चरणबाट बाहिरियो

Yangle News
Yangle News
२०७९ मंसिर १६ गते
जितका बाबजुद जर्मनी  फिफा विश्वकप को समूह चरणबाट बाहिरियो

जर्मनी  फिफा विश्वकप कतार २०२२ को समूह चरणबाट बाहिरिएको छ ।

बिहीबार कोस्टारिकालाई ४–२ गोल अन्तरले हराएपनि समूह ई को निकै रोमान्चक खेलमा  जर्मनी २०२२ को विश्वकपबाट बाहिरिएको हो । जर्मनी लगातार दोस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिएको हो ।

अल बायत स्टेडियममा खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए ।

कोस्टारिकाले ५८ औं मिनेटमा येल्त्सिन तेजेदामार्फत बराबरी गोल फर्कायो । खेलको ७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाए ।

काइ हार्भट्जले खेलको ७३ औं मिनेटमा गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा ल्याए । खेलको ८५ औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाए ।

खेलको ८९ औं मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४–२ को जित दिलाए ।  जित निकाले पनि जर्मनी समूह ‘ई’ मा तेस्रो स्थानमा  रहेर प्रतियोगिताबाट बाहिरियो ।

स्पेन जापानसँग २-१ ले पराजित भएपछि जर्मनी बाहिरिएको हो । यस नतिजासँगै जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनी ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।