नेपाली कांग्रेसले जिल्ला सभापतिदेखि पूर्वमन्त्रीसम्मलाई कारबाही गरेको छ । कांग्रेसको अनुशासन समितिको बैठकले गत तीन तहकै निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै उनीहरूलाई कारबाही गरेको हो ।
कांग्रेस अनुसशासन समितिले तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकुमार राई र पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासन गरिएको हो । अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढंगानाका अनुसार कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३४ को उपधारा १ (क) ( ख) (घ)अनुसार उनीहरूलाई कारबाही गरिएको हो । त्यस्तै धनुषा लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ महिने कारबाही गरिएको छ ।
त्यस्तै धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं. १ का रामवावु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं. २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं. १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं. ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई पनि ६ महिना र नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाको लागि निलम्बन गर्ने निर्णय भएको ढुंगानाले बताए ।
‘अन्याय र अपमानविरुद्ध डटेर लागेकै हुँ’
खोटाङ सभापति राईले पार्टीको अनुशासन समितिले पार्टीबाट निष्कासन गरेको पत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफू पार्टी नेतृत्वको अन्यायविरुद्ध उभिएको बताएका छन् । ‘राजनीतिमा सधैँ प्राप्तिमात्र हुँदैन, गुमाउनु पनि पर्छ । ३५ वर्षे निरन्तर राजनैतिक यात्रामा कहिले उकाली कहिले ओराली छिचोलियो,’ सभापति राईले भनेका छन्, ‘२०७९ सालको गठबन्धनका क्रममा खोटाङ कांग्रेसलाई केन्द्रीय नेतृत्वबाट सुनियोजित ढंगले भएको ठूलो अन्याय र अपमान बहोर्नु पर्दा म स्वाभिमानी कार्यकर्ता विष्णुकुमार राईलाई त्यो बिल्कुल सह्य हुने कुरो थिएन । त्यसविरुद्ध म डटेर लागेकै हुँ ।’
उनले त्यसबापत पार्टीले गरेको कारबाही सहर्ष स्वीकार्य रहेको बताएका छन् । ‘जसबापत केन्द्रले महत्त्वपूर्ण सम्मानपत्र पठाएको छ । हार्दिक ग्रहण गर्दछु,’ राईले भनेका छन्, ‘म सदैव स्वाभिमानी निष्ठावान् खोटाङे कांग्रेसीहरूको साथमा छु, रहनेछु ।’
विज्ञप्ति :