विश्व रेकर्ड- दुबै खुट्टा नभएका बुढामगरले गरे सगरमाथाको सफल आरोहण

Yangle News
Yangle News
२०८० जेष्ठ ७ गते
विश्व रेकर्ड- दुबै खुट्टा नभएका बुढामगरले गरे सगरमाथाको सफल आरोहण

 

पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । बुढामगर यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरे ।  रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।

Yangle News

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौं ।’

हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहेका छन् । सफल आरोहणपछि स्याटलाइट फोनमार्फत बुढामगरले भने, ‘वास्तवमा मैले सोचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नैपर्ने थियो । त्यसैले हामीलाई कुनै फरक परेन । जतिसुकै दुःख भए पनि अन्ततः हामी सफल भयौं ।’

बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए ।  उनले भने, ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ ।  सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि बुढामगरको नाममा छ ।

Yangle News

421 views