नामिबियासँग श्रीलंका स्तब्ध

Yangle News
Yangle News
२०७९ अशोज ३० गते
नामिबियासँग श्रीलंका स्तब्ध

एसिया कप विजेता श्रीलंका विश्वकपमा एसोसिएट राष्ट्र नामिबियासँग स्तब्ध भएको छ।

अष्ट्रेलियामा आइतबारबाट सुरू भएको टी-२० विश्वकप क्रिकेटको उद्‍घाटन खेलमा श्रीलंका नामिबियासँग ५५ रनले पराजित भएको हो।

१ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १ सय ८ रनमा अल आउट भयो ।

नामिबियाको स्पिनर बेर्नाड स्कोल्ट्जले र बेन शिकोङ्गोले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक जित दिलाएका हुन् । ओपनर पाथुम निसंका ९, कुशल मेन्डिस ६, धनन्जय डि सिल्भा १२ र धनुष्का गुणाथिलका शून्यमा आउट भए । श्रीलंकाको लागि कप्तान दाशुन शनकाले २३ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए । यस्तै भानुका राजपाक्षेले २० रन बनाउँदा धनन्जयले  १२ र महेश तेक्षेणाले ११ रन बनाए। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नामिबियाका डेभिड वाइज, बनार्ड स्कोल्टज, बेन शिकागो र यान फ्रायलिङ्कले २-२ विकेट लिए। जेजे स्मिटले १ विकेट हात पारे।

त्यसअघि साइमन्ड्स स्टेडियम जिलङमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । नामिबियाको लागि मध्यक्रमका ब्याटर ज्यान फ्रिलिंकले २८ बलमा ४ चौकासहित सर्वाधिक ४४ रनमा रन आउट भए । स्टेफन बर्डले २६ रन बनाउँदा यान निकोल र कप्तान एरार्ड इरास्मसले २०-२० रन बनाए।

श्रीलंकाका लागि प्रमोद मधुशानले २ तथा महेश तेक्षाना, दुसमान्था चमेरा, चमिका करूणारत्ने र वाइन्डु हसरंगाले १-१ विकेट लिए।