निर्वाचन आचारसंहिता-२०८२ स्वीकृत, दायरा फराकिलो बनाएको दाबी

Yangle News
Yangle News
२०८२ पुस १३ गते
निर्वाचन आचारसंहिता-२०८२ स्वीकृत, दायरा फराकिलो बनाएको दाबी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

आचार संहितामा दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट वा जुनसुकै प्रकारको र्‍याली, गर्दा बढीमा दशवटा राष्ट्रिय झन्डा मात्र प्रयोग गर्न सकिने उल्लेख छ । साथै निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न आचारसंहिताले रोक लगाएको छ ।

स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जानेछ । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसअघि आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर सरोकारवालासँग राय सुझाव मागेको थियो । आएका सुझाव समेत समेटेर आचारसंहिता स्वीकृत गरिएको हो ।

यस पटकको आचारसंहिताको दायरा फराकिलो बनाएको आयोगले दाबी गरेको छ । ‘पहिला सचेतनाको मोडलमा आचारसंहिता हुन्थ्यो अहिले कारबाहीको मोडलमा छ’, कार्यवाहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘कार्यान्वयनको सवालमा पहिलाजस्तै ५०/५५ दिनअघिबाट लागू हुन्छ ।’

उनले आचारसंहिता तत्काल लागू गर्दा सरकारका कामकारबाहीमा प्रभाव पर्ने भएकाले ती विषयलाई समेत ख्याल गरेर माघ पहिलो साताबाट लागु गर्ने जानकारी दिए ।