गुल्मी अस्पतालमा एक वर्षदेखि दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियु अलपत्र परेको छ । एक करोड पचाँस लाख बढीको उपकरण प्रयोगमा आउन सकेको छैन ।
स्वास्थ्य उपकरणमा खिया आउन थाले पनि सेवाग्राही भने निजी अस्पतालहरूमा महँगो मूल्य तिरेर उपचार गर्न बाध्य छन् । जनशक्ति व्यवस्थापन नहुँदा भेन्टिलेटरसहितको आइसियु प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले कोभिड सकिएपश्चात् ल्याबको प्रयोग नआएको स्वीकार गर्नुभयो ।
पछिल्लो समयमा पिसीआर खर्चिलो भएको र त्यसको कार्य एन्टिजेन परीक्षणबाट सरल, सहज र कम खर्चिलोमा हुने भएको ल्याबको उपयोग नभएको उहाँले बताउनुभयो । आइसियु सञ्चालनमा भने दक्ष जनशक्ति नहुँदा त्यसको सञ्चालन हुन नसकेको पाण्डेको भनाई छ ।
५९ जनाको दरबन्दि रहेको अस्पतालमा अहिले १७ जना मात्र स्थायी दरबन्दीमा रहेका जनशक्ति अस्पतालमा कार्यरत छन् । अस्पतालमा विशेषज्ञ डाक्टरहरूको १० स्थायी दरबन्दी छ । तर, स्थायी दरबन्दीमा विशेषज्ञ डाक्टर एक जना मात्रै छन् ।