प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ ।
समितिको शुक्रबारको बैठकले विधेयकलाई सर्वसम्मतले पारित गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए । विधेयकमा विवादित विषय रहेका कुलिङ पिरियड र अवकाश उमेर ५८ बाट ६० बनाउँदा लागू गर्ने विषमा विवाद थिए ।
यी विषयमा कुलिङ पिरियड २ वर्ष राख्ने र अवकाश उमेर ५८ बाट ६० पुर्याउँदा १/१ वर्ष गर्ने गरी लागू गरिएको हो । यस्तै स्थानीय तहका कर्मचारीहरूको लागि १ पटकको लागि अन्तरप्रदेश सरुवा गरिने र अतिरिक्त सचिवको व्यवस्था गरिएको छ । यस्तै सरुवा चक्रीय प्रणालीबाट हुने भएको छ । यस्तै निजामती सेवा प्रवेशको उमेर पुरुषको हकमा ३५ र महिलाको हकमा ३९ वर्ष कायम गरिएको छ । यसअघि महिलाको सेवा प्रवेश अवधि ४० वर्ष कायम गरिएको थियो ।
विधेयकको प्रतिवेदन अन्तिम रूप दिन भने बाँकी रहेको सभापति खतिवडाले जानकारी दिए । अन्तिम समयमा जुटेका सहमतिका विषय प्रतिवेदनमा समेट्नका लागि आन्तरिक बैठक बस्ने बताइएको छ ।
विधेयकका विवादित विषयमा छलफल गर्नका लागि सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको थियो । उपसमितिले गोप्य बैठक राखेर दफावार छलफल समेत गरेको थियो ।