अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान

Yangle News
Yangle News
२०८३ बैशाख १५ गते
अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरेको छ । मंगलबार काठमाडौंमा वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै कार्यालयले अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान रहेको जनाएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको संशोधित अनुमान सार्वजनिक गरिएको थियो । त्यसैगरी, आर्थिक वृद्धिदर मापन गर्नको लागि स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन प्रयोग गरिएको कार्यालयले जनाएको छ ।

जसअनुसार, चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.६८ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी डा. कमल प्रसाद पोख्रेलले जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्रको १.५८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.५४ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान रहेको उनले बताए । नीति निर्माणका क्रममा तथ्यांक को अधिकतम प्रयोगका लागि समेत तथ्यांक कार्यालयका आँकडा महत्त्वपूर्ण हुने उनको भनाइ छ । उनले अन्तराष्ट्रिय मापदण्डका आधारमा नै तथ्यांक बनाउने गरेको उल्लेख गरे । त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.५२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ भने वित्तीय तथा बिमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ६.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ९.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।