चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

Yangle News
Yangle News
२०८० असार ८ गते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

 

चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष सबैभन्दा बढी पर्यटक भित्रिएका छन् । विगतका वर्षमा विदेशी पर्यटक धेरै हुने भए पनि यस वर्ष निकुञ्ज भित्रिएका धेरै पर्यटक नेपाली हुन् । पर्यटनविद्हरुले गरेको सूक्ष्म अध्ययनले भने जिल्लामा वार्षिक सात लाखभन्दा बढी पर्यटक भित्रिने गरेको देखाएको छ ।

निकुञ्जमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई लाख ८८ हजार तीन सय ५९ पर्यटक भित्रिएका छन् । यीमध्ये एक लाख ९८ हजार आठ सय २६ नेपाली, ३५ हजार आठ सय ८६ सार्क मुलुकका र २९ हजार पाँच सय ७६ विदेशी पर्यटक रहेका छन् । त्यसबाट १७ करोड ३० लाख तीन हजार नौ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०७८\७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक भित्रिएका थिए । जसबाट ११ करोड ४९ लाख ९७ हजार चार सय १३ रुपैया राजस्व सङ्कलन भएको थियो ।  निकुञ्ज प्रवेश गर्ने नेपाली पर्यटकले एक सय ५०, सार्क देशकाले एक हजार र अन्य देशकाले रु दुई हजार रुपैयाँ राजस्व बुझाउँनु पर्छ । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत हुन्छन् ।

403 views