विश्व क्यान्सर दिवसमा एनसीआरएसको भव्य र्याली

Yangle News
Yangle News
२०८२ माघ २१ गते
विश्व क्यान्सर दिवसमा एनसीआरएसको भव्य र्याली

 

२६ औं विश्व क्यान्सर दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) ले काठमाडौंमा बृहत जनचेतनामूलक र्यालीको आयोजना गरेको छ । संस्थाका अध्यक्ष महेश श्रेष्ठले बढ्दो क्रममा रहेको क्यान्सरको जोखिमलाई घटाउने यस्ता खालका सचेतनामूलक कार्यक्रमहरु निरन्तर आवश्यक रहेको बताउनुभयो । वहाँले हरेक क्यान्सर रोगीको फरकफरक अनुभव र भोगाइँहरुलाई सान्त्वना दिदै मनोबल बढाउनका लागि सबैजना एक भएर लाग्नुपर्ने बताउनुभयो ।

सो अवसरमा संस्थाका महासचिव दिपेन्द्र बान्तवाले क्यान्सर रोग र यसका विरामीहरु प्रति सरकारले लिएको नीति र कार्यक्रमहरु नाम मात्रको भएकाले त्यसको प्रभावकारीता नहुँदा क्यान्सर पीडितले दुख पाउनु परेको बताउनुभयो ।  वहाँले हाल सरकारले क्यान्सर लगायतका दीर्घ रोगीहरुलाई उपलब्ध गराएको विपन्न तथा असहाय सहुलियतमा पनि पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।

नेपालमा सबैभन्दा पहिला क्यान्सर विरुद्धको अभियान एनसीआरएसले सुरु गरेको स्मरण गर्दै निवर्तमान अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले जनचेतनामूलक कार्यक्रमहरुलाई तिव्रता दिन सुझाव दिनभयो ।

र्यालीमा काठमाडौँको रानी पोखरीस्थित दरबार हाइस्कूल, पानीपोखरीस्थित भानुभक्त उच्च मावि, चावाहिलको शुभारम्भ उच्च मावि, शिक्षण अस्पताल महाराजगञ्जमा अध्ययनरत विद्यार्थीहरुको संस्था फिजिशियन फर सोसल रेस्पोन्सिबिलिटिका प्रतिनिधि, ललितपुर मेट्रो स्काउट, काठमाण्डौ लायन्स, नेपाल हार्ट क्लब, संस्थाको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु, काठमाडौँ शाखा  तथा विभिन्न क्षेत्रमा क्रियाशील समाजसेवीहरु गरी करिब चार सयजनाको सहभागिता थियो ।

राजधानीको भृकुमण्डपबाट सुरु भएको र्याली सहिद गेट, न्युरोड गेट, जमल, दरबारमार्ग, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो ।

विश्वभर क्यान्सर रोग विरुद्ध जनचेतना जगाउने विशेष दिनका रुपमा मनाइने विश्व क्यान्सर दिवसको यस वर्षको नारा “पृथकतामा एकता” तय गरिएको छ ।