प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का कर्मचारीहरू चढेको गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
आज बिहान सीटीइभीटीका कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जिप भक्तपुरबाट खोटाङतर्फ जानेक्रममा सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनको ओरालोमा दुर्घटना भएको हो । जिप ओरालोबाट सुनकोशी नदीमा खसेको छ । जिपमा ड्राइभरसहित चार जना सवार रहेका ड्राइभर झ्यालबाट हामफालेकाले एक जना जीवितै छन् । बाँकी तीन जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता भएकामा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्णबहादुर केसी‚ पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल छन् ।
बेपत्ताको खोजीका र उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट टोली खटाइएको छ ।