उत्तर कोरियाले बुधबार बिहान करिब १० मिसाइल प्रहार गरेको थियो। सो आक्रमणको जवाफमा बुधबार दिउँसो दक्षिण कोरियाले तीनवटा मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाले हावाबाट सतहमा हान्न सक्ने तीन मिसाइल प्रहार गरेको हो।
उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको करिब तीन घण्टापछि प्रहार गरिएको उक्त क्षेप्यास्त्र उत्तरी सीमा रेखाबाट केही टाढा खसेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्।
यो रेखाले अस्पष्ट रूपमा दुई देशबीच समुद्र विभाजित गर्दछ। तर, उत्तर कोरिया भने उक्त सीमा रेखालाई स्वीकार गर्दैन।
यसअघि उत्तर कोरियाले एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार गरेको बताइएको थियो । यी मध्ये एउटा ब्यालेस्टिक मिसाइल पहिलो पटक दक्षिण कोरियाको सामुद्रिक सीमामा खसेको थियो। यसपछि टापुमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो।
दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाको जलक्षेत्र नजिक खसेको यो पहिलो पटक भएको बताएको छ । शीर्ष दक्षिण कोरियाली अधिकारी केंग शिन-चुलले उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र दक्षिण कोरियाको सीमा नजिकै खसेकोले अस्वीकार्य भएको बताएका छन् ।
उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रहार गर्नुअघि दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको वायु सेना अभ्यास रोक्न भनेको थियो। दक्षिण कोरियाका राष्ट्रपति युन सुक-युलले उत्तर कोरियाको आक्रामकताको छिट्टै जवाफ दिइने बताएका थिए।
उनले दक्षिण कोरिया र अमेरिकाबीचको सम्बन्ध तोड्ने कुनै पनि प्रयास सफल नहुने बताएका थिए । अलजजीरा