औसत तापक्रम १.५ डिग्रीभन्दा बढी हुने अनुमान

Yangle News
Yangle News
२०८२ जेष्ठ १५ गते
औसत तापक्रम १.५ डिग्रीभन्दा बढी हुने अनुमान

संयुक्त राष्ट्रसंघले सन् २०२९ सम्म विश्वव्यापी औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको बताएको छ ।

राष्ट्रसंघीय मौसम र जलवायु एजेन्सी विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले प्रकाशित गरेको वार्षिक प्रतिवेदन अनुसार पूर्वऔद्योगिक समयको तुलनामा विश्वव्यापी औसत तापक्रम १ दशमलव ५ डिग्रीले बढ्ने सम्भावना ७० प्रतिशत रहेको छ ।

यसअघि सन् २०२३ र २०२४ मा पनि विश्वव्यापी तापक्रम पूर्वऔद्योगिक समयको तुलनामा १ दशमलव ५ डिग्रीले बढिसकेको छ । तर त्यसलाई छोटो समयको वृद्धि मानिएकोमा अबको पाँच वर्ष पनि त्यही रूपमा बढेर समग्र औसतमा १ दशमलव ५ डिग्रीको विन्दु पार गर्न लागेको हो ।

सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्वव्यापी तापक्रमलाई पूर्वऔद्योगिक समयको तुलनामा २ डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य राखेको थियो । त्यसयता १ दशमलव ५ डिग्रीलाई पार गर्न नहुने विन्दु मानिँदै आएको छ ।

कोइला, तेल र ग्यासले कार्बनडाइअक्साइड उत्सर्जन गर्दछ । हरितगृह ग्यास मुख्यतया जलवायु परिवर्तनका लागि जिम्मेवार छ । डब्ल्यूएमओका उपमहासचिव को ब्यारेटले पछिल्लो रिपोर्टले आउँदा वर्षहरूमा हाम्रो अर्थव्यवस्था, दैनिक जीवन, पारिस्थितिक प्रणाली र पृथ्वीमा बढ्दो नकारात्मक प्रभाव पर्ने बताएका छन् ।