त्रिविको उपकुलपति पदका लागि ४३ जनाको आवेदन

Yangle News
Yangle News
२०८० माघ ८ गते
त्रिविको उपकुलपति पदका लागि ४३ जनाको आवेदन

 

त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन परेको छ । उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाले जनाएको छ ।

आवेदन दिनेहरूमा त्रिविमै नयाँ नियुक्ति नहुँदासम्मका लागि उपकुलपतिको जिम्मेवारी पाएका प्राडा शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्राडा नन्दबहादुर सिंह लगायतका रहेका छन् । २०७६ सालमा नियुक्ति भएका सिंहको कार्यकाल आगामी फागुन १८ गते सकिँदै छ ।

त्यस्तै त्रिविकै पूर्व उपकुलपति प्राडा तीर्थ खनिया, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्मा, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, त्रिविका पूर्व डीन गुणनिधि न्यौपाने, टंक धमला, महानन्द चालिसे, भोजराज अर्याल, प्रकाश घिमिरे, केदार घिमिरे, कृष्णराज तिवारी लगायतले आवेदन दिएका छन् ।

त्रिविको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त हुन लागेको हो । यसका लागि शिक्षामन्त्री तथा त्रिविका सहकुलपति अशोक कुमार राईको अध्यक्षतामा तीन सदस्यीय उपकुलपति सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन आह्वान गर्दै २३ पुसमा सूचना जारी गरेको थियो । यसअघि पुस २० मा जारी भएको सूचनामा विरोध भएको थियो ।

विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने समेत मापदण्ड तोकिएपछि विरोध भएको थियो । त्यसपछि कुलपति प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले दोस्रो पटक १५ दिनका लागि जारी गरेको सूचनाको म्याद सोमबार सकिएको छ ।