बाढी प्रभावित रसुवामा डिशहोमद्वारा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा

Yangle News
Yangle News
२०८३ भदौ २४ गते
बाढी प्रभावित रसुवामा डिशहोमद्वारा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा

काठमाडौं भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले प्रभावित क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याट वनवेबसँगको सहकार्यमा बाढीबाट बढी प्रभावित क्षेत्रमा वनवेब स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएको हो। उक्त सेवा भदौ २० गतेदेखि प्राथमिकताका आधारमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा समन्वयका लागि भरपर्दो सञ्चार सेवा आवश्यक हुने भएकाले प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको छ।

युटेलस्याट वनवेबको लो–अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधि मार्फत उपलब्ध गराइएको यो सेवा बाढीका कारण क्षतिग्रस्त स्थलीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको वैकल्पिक माध्यमका रूपमा प्रयोग हुनेछ।

यसबाट सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा राहत कार्यमा संलग्न विभिन्न निकायबीच सूचना आदान–प्रदान, वास्तविक समयको समन्वय तथा आवश्यक डेटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डिशहोमले प्राकृतिक विपद्का कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध भएको अवस्थामा प्रभावित क्षेत्रका लागि भरपर्दो वैकल्पिक सञ्चार सुविधा उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको जनाएको छ।

कम्पनीका अनुसार नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँगको समन्वयमा प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता र प्राथमिकताको मूल्याङ्कन गरिनेछ।

दूरसञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्ण रूपमा मर्मत तथा पुनःस्थापना नभएसम्म आवश्यकताका आधारमा उच्च प्राथमिकतामा रहेका थप स्थानमा समेत स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्दै जाने डिशहोमले प्रतिबद्धता जनाएको छ।

डिशहोम र युटेलस्याटले विपद्का समयमा प्रविधिको प्रभावकारी उपयोग गर्दै आपत्कालीन सञ्चार, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउनुका साथै प्रभावित समुदायको आपत्कालीन प्रतिरोधात्मक क्षमता सुदृढ गर्न योगदान गर्ने बताएका छन्।