कास्कीमा पाँच सहकारीका बचतकर्ताको तीन अर्ब रकम जोखिममा

Yangle News
Yangle News
२०८० पुस ११ गते
कास्कीमा पाँच सहकारीका बचतकर्ताको तीन अर्ब रकम जोखिममा

 

कास्कीका पाँच सहकारीमा जम्मा गरेको बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ । ती सहकारीमा बचतकर्ताको दुई अर्ब त्रियासी करोड सैँतिस लाख एकहत्तर हजार जोखिममा परेको हो ।

यी सहकारीका सञ्चालक बिरुद्ध तीन हजार छ सय बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । सूर्य दर्शन बचत तथा ऋण सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी, इमेज बचत तथा ऋण सहकारी, बलिदानी बचत तथा ऋण सहकारी संस्था र मीत्र मीलन बचत तथा ऋण सहकारीका बचतकर्ता र सेयर सदस्यले कर्मचारी र सञ्चालकहरूले ठगेको भन्दै उजुरी दिएका हुन् ।

शिव शिखरका कर्मचारी र सञ्चालक गरी ११ जनाविरुद्ध एक हजार एक सय ३९ जनाले उजुरी दर्ता गराएका छन् । इमेजका १५ जनाविरुद्ध पाँच सय २४ जनाले, सूर्य दर्शनका १९ जनाविरुद्ध एक हजार ३४ जनाले, बलिदानीका १५ जनाविरुद्ध एक सय ९८ जनाले र मीत्र मीलनका ३२ जनाविरुद्ध ७ सय १४ जनाले उजुरी दिएका हुन् ।

यसरी उजुरी परेकाहरूलाई पक्राउ पुर्जी जारी भएको छ भने पक्राउ पुर्जी जारी भएकाहरू धेरैजसो फरार छन् । शिव शिखरका पूर्व अध्यक्ष केदारनाथ शर्मा, व्यवस्थापक लीलानाथ गौतम, सदस्य अमीराज भण्डारी र अर्का सदस्य पुष्कर मल्ल पुर्पक्षका लागि कारागार चलान हुँदा बाँकी अभियुत्त भने फरार छन् ।

सूर्य दर्शन बचत तथा ऋण सहकारीका १९ जनालाई पक्राउ पुर्जी जारी भएको छ । कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लाग थुनामा रहँदा बाँकी सबै फरार छन् । यस्तै, इमेज बचत तथा ऋण सहकारीका सञ्चालक र कर्मचारी गरी १५ जनालाई पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये अध्यक्ष चित्रबहादुर भण्डारी, सदस्य विमला गुरुङ, लेखा समति संयोजक शक्त किसान,  लेखा समति सदस्यहरु भूमि भण्डारी, निशा कार्की र विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये दुई जना पुर्पक्षका लागि थुनामा जाँदा चार जना धरौटीमा रिहा भएका छन् । बाँकी नौ जना भने फरार छन् ।

बलिदानी बचत तथा ऋण सहकारी संस्थाका १५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा अध्यक्ष अजय श्रेष्ठ, उपाध्यक्ष राजन लम्साल, कोषाध्यक्ष सुवर्णमान नकर्मी, सदस्य डिल्लीराम सिग्देल र लेखा समति सदस्य सचिना थापालाई प्रहरीले पक्राउ परेको थियो । तीमध्ये तीन जना पुर्पक्षका लाग थुनामा र दुई जना धरौटीमा छुटेका छन् । बाँकी १० जना फरार छन् ।

मित्र मीलन बचत तथा ऋण सहकारीको ठगी अभियोगमा ३२ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धि सागर पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बाँकी २७ जना फरार छन् ।

पक्राउ परेकाहरु माथि अनुसन्धान र फरारहरूको खोजी भइरहेको कास्कीका प्रहरीले जनाएको छ । मित्र मीलन सहकारीबाट सर्वसाधारणको रकम ठगी गरि फरार हुनेमा पोखरा महानगरपालिका- २१ का अध्यक्ष दीपक सुवेदी छन् ।