बागलुङ नगरपालिका-९ तित्याङको अदुवाबारीस्थित राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको छ । बागलुङ नगरपालिका-१० भकुण्डे घर भएका पाँच दाजुभाइले १८ रोपनी जग्गामा लगाएका पाँच सय सुन्तलाका बिरुवाले आगामी वर्षदेखि उत्पादन दिन थाल्नेछन् । त्यहाँ अहिले झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि उनीहरुले खेत मासेका हुन् ।
पैँतिस वर्षसम्म शिक्षण गरेका ६२ वर्षीय रेशमलाल शर्माले आफ्नो ६ रोपनी जग्गामा दुई सय सुन्तलाका बिरुवा लगाएका छन् भने अन्य चार भाइले १२ रोपनी जग्गामा करिब तीन सय सुन्तलाका बिरुवा लगाएका छन् ।
भकुण्डेमा घर र खेत तित्याङमा भएकाले धान उत्पादनको लागत बढेको र मकै तथा गहुँ नछर्दा ६ महिना बाँझो छोड्नुपर्ने अवस्थामा रहेको खेत अहिले सुन्तलाका बिरुवाले हरियाली बनेको रेशमलाल शर्मा बताउँछन् ।
रेशमलालसहित, ताराप्रसाद शर्मा, लक्ष्मण शर्मा, केशव शर्मा र दामोदर शर्माले धान खेतीभन्दा सुन्तला खेतीबाटै राम्रो आम्दानी गर्न सकिने भन्दै १८ रोपनी जग्गामा तीन वर्षअघि सुन्तला खेती थालेका हुन् । यो सुन्तला बगैँचालाई जिल्लाकै ठूलो बगैँचा बनाउने गरी एकीकृत ढङ्गले सुन्तला खेती थालिएको हो । रेशमलाल भने अझै एक सय बिरुवा थप्ने लक्ष्यमा छन् ।
धान, मकै र गहुँ गरी तीनबाली हुने खेतमा भकुण्डेबाट आएर तीन खेती गर्न सम्भावना नभएको र धान खेती मात्रै गर्दा २५ देखि ३० मुरी धानले खनजोत र खेतालाको रकमसमेत नउठ्ने भएकाले सुन्ताला खेतीमा लागेको केशव शर्माले बताए ।
सुरुमा सुन्तला खेतीलाई बढी मेहनत गर्न परे पनि बिरुवा हुर्किएपछि समस्या नहुने कृषक केशवको भनाइ छ । एकीकृतरूपमा सुन्तला खेती गर्दा सुरक्षा, सिँचाइ तथा मलजलमा सहज हुने छ । अठार रोपनी जग्गामा फैलिएको सुन्तला बगैँचालाई ‘आरम्भ एकीकृत कृषि फार्म’ नामकरण गरेर दर्ता गरिएको छ ।